काठमाडौं,
जेठ ६ ।
जिनियस म्युजिक प्रालिले स्थापना दिवसको अवसर पारेर ‘दोस्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । एक दशक भन्दा लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–सङगीतका लोकप्रिय श्रष्टाहरूलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।
कम्पनिले विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइटमार्फत देशभरी आवेदन भर्न सकिनेछ ।
कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत-संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् ।
ज्येष्ठ २० गते उत्कृष्ट पाँच मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन्तिम मिति रहेको जानकारी आयोजकले दिएको छ ।
आगामी असारमा जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिने बताइएको छ । आयोजकका अनुसार अवार्डमा विभिन्न ४१ विधामा सङ्गीतकर्मीहरूलाई पुरस्कृत तथा सम्मानित गरिदै छ ।






