काठमाडौं,
वैशाख १२ ।
अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहनुभएको छ । वैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको दिया अभिनित चलचित्र ‘मन्त्र’ पोष्टर र नेपालको रास्ट्रिय झण्डासहित सगरमाथा बेस क्याम्पबाट प्रचारप्रसार पनि गर्नुभएको हो ।
अभिनेत्री सगरमाथा आरोहण प्रस्थान गर्नुअघि निर्माण टिमले उहाँलाई एक कार्यक्रम गर्दै स्वागत गरेको थियो । उहाँ हाल एभरेष्ट बेस क्याम्प ५३४८ मिटरको उचाइमा पुग्नुभएको छ । गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बनेको चलचित्रका निर्देशक खिलबहादुर गुरुङ हुनुहुन्छ ।
गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्सँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि।एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ ।
सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ ।
मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । गोरखा जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायत रमणीय दृश्य कैद गरिएको छ ।
सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुनुहुन्छ । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका छ ।
परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि. गुरुङको सम्पादन छ ।






