काठमाडौं,
वैशाख ६ ।
विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच गीत भिडियोसहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा सङ्गीत छ, भने एरेञ्ज मुस्कान मुकारुङको छ ।
गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमीप्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गर्नुभएको हो । अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैंले गर्नुभएको छ ।
कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरणलगायतले गीतको सफलताका लागि शुभकामना दिनुभएको थियो ।
गीतको शब्द, सङ्गीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुवै स्रोता तथा दर्शकले रुचाउने विश्वास आफूले लिएको गायक विश्राम रायमाझीले बताउनुभयो ।






