सांस्कृतिक संघ जनताको घरआँगनमा जाने

काठमाडौं,
माघ २६ ।

नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसको प्रचारप्रसारका लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनलाई सक्रिय बनाउने भएको छ । बुधबार संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो ।

संघले चैत मसान्तभित्र नेपालका ७५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरूद्वारा स्थानीय, प्रदेश र संघको निर्वाचनमा सहभागिता जनाउने संकल्प र निर्णय पनि गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरू पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन ।’

कांग्रेसविना यो मुलुकको समृद्धि र पूर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गर्नुभयो । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उहाँको दाबी छ । उहाँले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गर्नुभयो । उहाँले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको छ । संघले दुईवटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार