काठमाडौं,
माघ २५ ।
रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि-जजहरूको रूपमा देखाइएको छ । तर, यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले हुनुहुन्छ । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फिमेल र्यापर फुर्दुकीलाई देखाएको थियो ।
कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डीम्युजिक टिभीमार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओएसआर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्याप म्युजिक रियालिटी शो हो । डीम्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदीप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गर्नुभएको हो ।
कार्यक्रमका लागि आठ हजार भन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएको जसमध्ये ६०० जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको आयोजकले जनाएको छ । अब फिजिकल अडिसनबाट छानिएका १२३ जनाले श्रीपेचको लागि प्रतिस्पर्धा गर्ने र विजेताले १० लाख तथा उपविजेता ले पाँच लाख प्राप्त गर्ने बताइएको छ ।






