सवारी साधनमा हट्यो जोर बिजोर, फागुन १ देखि विद्यालय खुल्ने

काठमाडौं,
माघ २४ ।

काठमाडौं उपत्यकामा आज (सोमबार)देखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसिसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर, १२ वर्ष पुरा नभएका विद्यार्थीहरूको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

यस्तै सरकारले आउँदो फागुन १ गतेदेखि सिनेमा हलसँगै रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय पनि गरेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि भिडभाड हुने रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार