काठमाडौं,
माघ २१ ।
निर्माता मधुकुमार श्रेष्ठ सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिकालगायत विभिन्न स्थानमा स्वास्थ्य टोलीसहित शिविर अभियानमा हुनुहुन्छ । जुन अभियान अन्तर्गत धादिङका विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना हुनुका साथै घरदैलो उपचार अभियानसमेत चलिररहेको छ ।
‘कोरोनाको डरको कारण अहिले मानिसहरू अस्पताल जान डराएर रोग लुकाउदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोलीसहित धादिङ आएको हो’ श्रेष्ठले भन्नुभयो ‘केही दिनको लागि भनेर आएको एकसाता भइसक्यो । एक, दुई गर्दै अहिले धादिङका धेरै गाउँमा शिविर आयोजना भइसकेको छ ।’ शिविरमा स्वास्थ्य परिक्षणको अलवा औषधिसमेत निःशुल्क वितरण गर्दै आएको श्रेष्ठले जानकारी गराउनुभयो ।
‘शिविरमा हामीले कोभिड टेष्टसमेत गर्ने गरेका छौ’ श्रेष्ठले थप्नुभयो, ‘स्वास्थ्य परिक्षणको क्रममा गम्भिर बिमारी देखिएकालाई अस्पताल पुर्याएर उपचार खर्चसमेत दिइरहेका छौ ।’
श्रेष्ठले शिविर खर्च कुनै संघसंस्था वा एन्जियोबाट जुटाएर गरिरहेका छैनन् । जे जति खर्च हुन्छ आफ्नो ब्यक्तिगत रुपमा खर्च गरिरहनुभएको छ । बिहिबारसम्म यो अभियान अन्तर्गत करिव १२ सय बढीको स्वास्थ्य परिक्षण भइसकेको छ । तिनमा केही गम्भिर बिरामीसमेत पाइएको थियो । जसलाई अस्पतालसमेत पुर्याइएको छ ।
‘मैले नयाँ चलचित्र निर्माणको सम्पूर्ण तयारी गरेको थिए । कोरोनाको कारण चलचित्र रोकियो’ श्रेष्ठले भन्नुभयो ‘अहिले चलचित्र बनाउनु भनेको लगानी डुबाउनु हो ।’ चलचित्र बनाएर लगानी डुबाउनु भन्दा चलचित्र बनाउने पैसा समाजसेवामा खर्च गर्नु राम्रो हो भनेर शिविर अभियानमा लागेको श्रेष्ठको भनाइ छ ।
कोरोनाको पहिलो लहर र दोस्रो लहरको समयमा पनि अक्सिजन, स्वास्थ्य सामाग्री, खाध्यान्न राहात लगायतको सहयोग सर्वसाधरका लागि दिएका श्रेष्ठले आफ्नो गाडीसमेत एम्बुलेन्स सेवाको रुपमा प्रयोग गर्नुभएको थियो ।
श्रेष्ठले ‘बजार’, ‘विन्दास’, ‘स्काउट’, ‘विन्दश २’लगायत चलचित्र बनाउनु भएको छ । नेपाल फिल्म सोसाइटीमासमेत आवद्ध श्रेष्ठको आफ्नो संयोजनमा बिगत पाँच बर्षदेखि अमेरिकामा नियमित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्दै आउनुभएको छ ।
अहिले सोसाइटीबाट पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजनाको तयारीमा उहाँ जुटनुभएको छ । उहाँ गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट प्रदेशसभाको उम्मेद्वारसमेत बन्नुभएको थियो ।






