काठमाडौं,
माघ १६ ।
नेपाली साङ्गीतिक क्षेत्रमा सफल मानिएको पूर्वेली भाकाको ‘सिंगौरी’ गीतको सिक्वेल पनि क्रमिक रूपमा बनिरहेको छ । गीतकार एवम् सङ्गीतकार शशी गुरुङ वाङदेलले पूर्वेली भाका सङ्कलन गरी सङ्गीत भरेको ‘सिंगौरी’ गीतले युट्युबमा दुई करोड ५० लाखमाथिको भ्युज कमाएसँगै ‘सिंगौरी २’ र ‘सिंगौरी ३’ पनि निर्माण गरिसक्नु भएको थियो । पहिलो पछिको अन्य दुईवटा गीतले पनि दर्शक तथा स्रोतामाझ राम्रै चर्चा कमाए ।
‘सिंगौरी ४’ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बूले खरिद गरी भिडियो निर्माण गर्नुभएको हो । भिडियोमा लोकप्रिय नायिका केकी अधिकारीले टिपिकल पोशाक लगाएर नृत्य गर्नुभएको छ । साथमा केकीसँगै थुप्रै म्युजिक भिडियोमा निर्देशन पनि गर्नुभएका कलाकार युगलले नै नृत्य गर्नुभएको छ । यस गीतको भिडियोको निर्देशन भने कमल राईले गर्नुभएको हो ।
त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल हृयारी योञ्जनका पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रूपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको ‘सिंगौरी ४’मा छिरिङ शेर्पाको शृंगार तथा केश विन्यास, सुक्निता चौलागाइको ड्रेस, सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको सिनेमाटोग्राफी र अनिलकुमार महर्जनको सम्पादन छ ।
विकास संगमको शब्द, शशी गुरुङ वाङ्देलको संगीत, नवीन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाई के फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।






