काठमाडौं,
माघ ११ ।
प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्द-रचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै सुमधुर सङ्गीत भरेका छन् । गीतमा राजेशपायल र द भ्वाइस किड्स नेपाल-२०७८ की उत्कृष्ट ८ प्रतिस्पर्धीमध्ये की दार्जिलिङकी गायिका पेमा देचेन तामाङको स्वर रहेको छ । गीत निकै ओजपूर्ण छ ।
https://www.youtube.com/watch?v=t-ILc4c5qCc
विगत तीनदसकदेखि एकपछि अर्को अब्बल शब्दरचनाका माध्यमबाट आफूलाई नेपाली साहित्यिक तथा साङ्गीतिक धरातलमा अब्बल सावित गर्दै आइरहेका एक जना स्वाभिमानी र इमानदार गीतकार टीका चाम्लिङको यो पछिल्लो रचना उत्कृष्टताको अर्को दृष्टान्त हो भन्ने कुरा सिर्जना स्वयंले सिद्ध गरेको छ ।
गीतकारले गीतमा प्रयुक्त ‘सै हँमा सै हँपा’ शब्द किराती राई चाम्लिङ भाषाबाट लिएका हुन् । नेपाली गीत लेखनक्षेत्रमा प्रयोग भएको सम्भवतः पहिलो गीत हो- सै हँमा सै हँपा । अत्यन्तै सम्मानित व्यक्तिहरूका लागि सम्बोधन गरिने यी शब्दहरूको प्रयोगले गीतमा नयाँपन थपिएको छ ।
यस भिडियोमा गायक राजेशपायल राई र गायिका पेमाको अभिनय पनि रहेको छ भने भिडियोलाई राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनले संयुक्त रूपमा प्रस्तुत गरेको छ ।






