उपन्यास ‘निती’माथि परिचर्चा

काठमाडौं,
पुस ४ ।

उपन्यासकार मीरा गोतामेको उपन्यास ‘निती’माथि शनिवार काठमाडौंमा परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरूले कृतिमाथि समीक्षा गर्नुभएको थियो । उपन्यासकार गोतामेको पहिलो कृति निती नारी विषयवस्तु माथि लेखिएको छ ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्वपूर्ण काम गरेको बताउनुभयो । मानिसको जीवनमा साना घटनाक्रमले पनि ठूलो प्रभाव पार्ने विषय उपन्यासमा प्रवेश भएको भन्दै समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्नुभयो ।

यस्तै साहित्यकार मणि लोहनीले उपन्यास नितीमा आधुनिक समाजको झल्को भेटिने बताउनुभयो । यसमा आम पुरुषको स्वभाव भेटिने र मानिसले खोज्ने प्रेम तथा अपूर्णता यसमा देखिएको बताउनुभयो । उपन्यासमा हरेक घटनाले अब के हुन्छ भन्ने कौतुहलता उत्पन्न गराउने हुँदा पठनिय रहेको उहाँको भनाइ थियो । नारी अन्तरमनलाई उपन्यासकार मीराले राम्रोसँग केलाएको साहित्यकार लोहनीले बताउनुभयो।

कृतिमाथिको परिचर्चामा डा. शान्तिमाया गिरीले उपन्यासकार गोतामेलाई समाजलाई शुक्ष्म अध्ययन गर्ने साहित्यकारको उपनाम दिइनुभयो । हरेक घटनाक्रमले प्रश्न उब्जाउने र जवाफ पनिसँगै भेटिने उहाँको भनाइ थियो । नियात्राकार युवराज नयाँघरेले नितीको उपस्थिती नेपाली साहित्यमा दर्विलो भएको तर्क राख्नुभयो । उहाँले नारी समाजको कथानकता यसमा समावेश भएको र उपन्यासमा नेपाली समाजको अन्तरद्वन्द्व भेटिने बताउनुभयो । पात्रहरू धेरै छन्, विषयवस्तुको उठान ठूलो छ, विद्रोह सानो छ भन्दै यसमा लेखकले ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

समीक्षा गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले कृतिले समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताउनुभयो । यस्तै अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले नेपाली साहित्यको उपन्यास विधामा महिलाहरूको उपस्थिती महत्वपूर्ण रहेको र यसमा मीरा गोतामे र उपन्यास नितीले अर्को ईंटा थपेको बताउनुभयो ।

कार्यक्रममा लेखक स्वयंले आफूले देखेका, भोगेका विषयवस्तुलाई निकै चुनौती मोलेर निती लेखिएको बताउँदै यसले आगामी दिनमा थप जिम्मेवारीबोध भएको उल्लेख गर्नुभयो । आगामी कृतिहरुमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उहाँको भनाइ थियो । उपन्यास निती माथि समालोचक प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठकले पनि कृतिमाथि आ-आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार