काठमाडौं,
मंसिर २ ।
हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पार्नुभएको छ । ब्युटिसियन नेपालको सातौं संस्करणमा उहाँले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पार्नुभएको थियो ।
नेपाली ब्युटीसियनहरूको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पार्नुभयो । त्यस्तै भूमिका शाहले सेकेन्ड रनर अप एवम् बेस्ट ट्यालेन्टको उपाधि हातपार्न सफल हुनुभयो । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरूबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए ।
ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरूको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरूले करिब दुई हप्ता व्यक्तित्व विकास, स्टेजको प्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियोसुट तथा विविध सौन्दर्य क्षेत्रका तालिम एवम् अभ्यास कक्षामा सरिक भएका थिए ।
फाइनल सोमा बिजेता उपबिजेता तथा अन्य प्रतियोगीहरूले विविध सबटाइटल अवार्डहरू प्राप्त गरेका थिए जसमा संगीता खड्का बेस्ट मेहेन्दी आर्ट साथै मोस्ट पपुलर, गीता राई बेस्ट मोडल मेकअप, बेस्ट फोटो जेनिक दिपिका सापकोटा, बेस्ट पर्सनालिटी सुमित्रा श्रेष्ठ, मोस्ट स्मार्ट सुमित्रा रिसाल, मोस्ट एयाक्टीभ जान्वी बस्नेतले हात पार्न सफल हुनुभएको थियो ।
आफूले आफैँलाई दुलही श्रृंगार गरेर बेहुलीको भेषमा स्टेजमा उत्रिएका ब्युटिसियनहरूको प्रस्तुति निकै आकर्षक देखिएको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर एवम् कार्यक्रम निर्देशक हिमानी सुब्बाले गर्नुभएको थियो भने निर्णायक मण्डलमा नायिका सञ्चिता लुंइटेल, नृत्य निर्देशक एवम् चलचित्रकर्मी गोबिन्द राई, कस्मेटोलोजिस्ट एवम् सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई एवम् ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर रहनुभएको थियो ।
कार्यक्रममा आर्कषक नृत्यहरूको पनि प्रस्तुति रहेको थियो भने कार्यक्रम प्रस्तोता नायक एवम् मोडल दिक्पाल कार्कीले दर्शकहरूमाझ रमाइलो प्रश्नोत्तरको श्रृंखला प्रस्तुत गर्नुभएको थियो जसमा बिजेताहरूलाई प्रायोजकले गिफ्ट वितरण गरेको थियो । कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनले सम्प्रेषण गरेको थियो भने फोटोग्राफी तथा भिडियोग्राफी वरिष्ठ फोटोग्राफर कुबेर तामाङले गर्नुभएको थियो ।






