काठमाडौं,
मंसिर २७ ।
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच यसको शुभारम्भ गरिएको हो । नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको विकृति एवम् अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको बताइएको छ । परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि चलचित्रसमेत निर्माण हुने बताइएको छ ।
महाअभियानका संयोजक मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरूलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरूमा अभियानका अभियान्ताहरूले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्व्यक्तिहरूसँग अन्तरक्रिया गर्नेलगायत महाअभियानका कार्यक्रमहरू रहेको बताउनुभयो ।
उहाँले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिनुभयो । महाअभियान प्रारम्भ भएको तीन महिनामा वक्तव्यमार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिने उउहाँले बताउनुभयो । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उहाँको भनाइ छ ।
कलाकार तथा चलचित्र निर्देशकसमेत रहनुभएका निरौलाले भन्नुभयो, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनुपर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उहाँको आग्रह छ ।
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथी तथा चलचित्र निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । यस्तै अभिनेत्री बसन्धुरा भुसालले नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गर्नुभयो । परिवर्तन नेपालको संस्थापक अध्यक्षसमेत रहनुभएकी उहाँले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउनेसमेत वाचा गर्नुभयो ।
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहनुभएको छ भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा रहनुभएको छ । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरू मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरू पनि क्रमशः जोडिन सक्ने जानकारी दिनुभयो ।
यो महाअभियानलाई शुभकामना दिन कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतको उल्लेख उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिनुभएको छ ।






