काठमाडौं,
मंसिर २७ ।
दुईदिने दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव शनिबार सम्पन्न भएको छ । नेपाल तामाङ कलाकार संघद्वारा आयोजित महोत्सव चुच्चेपाटीस्थित होटल हायातको खुला मैदानमा चलेको थियो ।
तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ ।
शुक्रबारदेखि चलेको महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ तथा सेलो संगीतका सर्जकहरू सहभागी हुनुहुन्थ्यो ।
महोत्सवमा तामाङ जातिसँग सम्बन्धित गीतसङ्गीत, नृत्य, ताम्बा तथा डम्फू संस्कृति, सभ्यता र भाषासँग जोडिएका विविध प्रस्तुति देखाइएको थियो ।
संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दै आएको बताउनुभएको थियो ।






