काठमाडौं,
मंसिर २२ ।
अमर स्रष्टा जगतमर्दन थापालाई सम्झना गरिएको छ । उहाँको प्रथम स्मृति दिवसमा गीतकार संघ नेपालको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सम्झना गरिएको हो ।
संघका उपाध्यक्ष वसन्त वित्यासी थापाज्यूको सभापतित्व तथा अग्रज गीतकार राजेन्द्र थापाज्यूको प्रमुख आतिथ्यतामा, संघका पूर्वअध्यक्ष योगेन्द्रमणि दाहाल तथा वर्तमान कार्यसमितिका पादाधिकारीहरू, सदस्यहरू एवं विशिष्ठ व्यक्तित्वहरू र उहाँको परिवारजनको उपस्थितिमा कार्यक्रम उहाँले नेपाली गीत संगीतमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । सो अवसरमा अतिथिहरूले थापा नेपाली गीतसंगीतका अमर स्रष्टा रहेको भन्दै चर्चा गर्नुभएको थियो ।
वरिष्ठ गायक थापाको ८४ वर्षको उमेरमा गतवर्ष निधन भएको थियो । २०१८ सालमा ‘माया लुकाइ लुक्दैन’ बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै थापाको गायन यात्रा सुरु भएको थियो । आठ दशक पार गरेको उमेरमा पनि सक्रिय जीवन बाँच्दै आउँनुभएका उहाँको पछिल्लो समय गीत रेकर्ड गराउने क्रम टुटेको थिएन ।
थापाको प्रतिभा गायकका रूपमा मात्र सीमित थिएन । २०११ सालदेखि कविता लेखनमा कलमसमेत चलाउँदै आउनुभएका उहाँ गीतकार, गायक, संगीतकार, कथाकार र लेखकका रूपमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो । थापा सांगीतिक क्षेत्रमा सिद्धान्तमात्र नभई व्यावहारिक पक्षलाई आत्मसात गर्नुपर्ने मान्यता राख्नुहुन्थ्यो ।
उहाँले गाएका ‘आशाको दियो बालेर’, ‘लुकाइ लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘भन लौ तिमी नढाँटी’, ‘दिलको आवाज’, ‘कुहिरोसँग डाँडाकाँडा’, ‘म मकिएको धुरी खाँबो’, ‘दैव संजोग’ जस्ता दर्जनौं गीत लोकप्रिय रहेका छन् ।






