सिक्किममा नेपाली साहित्य उत्सव सम्पन्न

गान्तोक,
मंसिर १४ ।

सिक्किममा नेपाली साहित्य उत्सव सम्पन्न भएको छ । सिक्किम राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार सिक्किम साहित्य उत्सव २०२१ सम्पन्न भएको हो । हाम्रो वार्ता टेलिभिजनको दोस्रो वार्षिकात्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशिष्ट अतिथिकोरूपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो ।

साहित्य उत्सवमा चर्चित नेपालका युवा कवि नवराज पराजुली, दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली)ले कविता वाचन गर्नुभएको थियो ।

सो अवसरमा साहित्यकार डा. राजेन्द्र भण्डारी, चेतनराज श्रेष्ठ, गुप्त प्रधान, केएन शर्मा, बिनाश्री खरेल र शशी शेर्पालाई अभिनन्दन गरिएको थियो भने सिक्किम विश्वविद्यालयका सहप्राध्यापक देवचन्द्र सुब्बा र चेतनराज श्रेष्ठले वार्ता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)ले भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ र छिमेकी राष्ट्र नेपालमा मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई विश्वमा चिनाउनुपर्ने बताउनुभयो । ‘तपाईं विदेशमा जानुहोस्, त्यहाँ आफ्नो जाति, भाषा, संस्कृतिको महत्व हुन्छ, विदेशमा कुनै नेपाली भाषी भेट्नुहुन्छ भने तपाईं कति खुशी महसुस गर्नुहुन्छ त्यति बेला । नेपाली भाषा, साहित्य र कलालाई विश्वभर फैलाउन हामी सबै आ(आफ्नो क्षेत्रबाट लाग्नुपर्छ’, आफ्नो जाति र भाषा कुनै ठाउँमा छैन भने त्यसको छुट्टै महत्व नहुने बताउँदै मुख्यमन्त्री गोलेले भन्नुभयो, ‘हामीले कुनै आवेदन पत्र लेख्नु प¥यो भने अंग्रेजी भाषामा लेख्छौं, नेपाली भाषामा लेख्दैनौं, हामीले नै नेपाली भाषालाई अपहेलन गर्छौं ।’ आफ्नो भाषालाई हामी आफैंले बलियो बनाउनुपर्ने र हामी त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । ‘अब भारतमा पनि नेपाली भाषाको छुट्टै पहिचान र महत्व छ, देशको संसद्मा सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेका छन्’, भारतको संविधानको आठौं अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको बताउँदै उहाँले भन्नुभयो, ‘भारतको संविधानमा नेपाली भाषाले मान्यता पाए पनि सिक्किममा यसले महत्व पाएको थिएन, त्यसैले हरेक वर्ष २० अगस्टलाई सिक्किममा नेपाली भाषा दिवस मनाउने घोषणा गरेका छौं ।’

सिक्किम मुख्यमन्त्री पिएस गोलेले पूर्वज साहित्यकार र कविहरूको नाममा अपतन फेलोसिप कार्यक्रमको घोषणा गर्नुभएको छ । सिक्किम साहित्य उत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किममा भाषा र साहित्यमा पिएचडी गर्नेलाई लाग्ने सबै खर्च राज्य सरकारले व्यहोर्ने घोषणासमेत गर्नुभएको छ । सिक्किमका सबै भाषाको विकासको निम्ति राज्य सरकारले काम गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘भोटिया, लेप्चा र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा राख्न र ती भाषालाई राज्यस्तरीयबाट पुरस्कार दिने व्यवस्था गर्ने छौं ।’

सिक्किममा पर्यटन, खेलकुद, चलचित्र, कृषिलगायतको महोत्सव मनाउँदै आएको छ । अब सन् २०२२ देखि हरेक वर्ष राज्य सरकारले हरेक साहित्य महोत्सव मनाउने उहाँले घोषणा गर्नुभयो । साहित्य महोत्सवमा नेपाली, लेप्चा, भोटिया, राई, लिम्बू, हिन्दी, मगर, तामाङ, नेवारलगायतको भाषाको संरक्षण यसको उद्देश्य रहने उहाँको भनाइ थियो । सिक्किमका लेखक, कवि, बुद्धिजीवीले लेखेको पुस्तक रकम अभावले छाप्न नसकेमा राज्य सरकारले ती पुस्तकहरू छापिदिने व्यवस्था मुख्यमन्त्री कोषबाट मिलाउने उहाँले बताउनुभयो । साथै जसले पनि सिक्किमभित्र आफ्नो चलचित्र बनाउँछ, ७० प्रतिशत छायांकन र स्थानीय कलाकार चलचित्रमा समावेश गर्छन्, ती चलचित्र बनाउनेलाई ३० लाखदेखि एक करोडसम्म राज्य सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षण आजको आवश्यकता रहेको सिक्किम साहित्य उत्सवमा सहभागी वक्ताहरूले जोड दिएका छन् । भाषा, साहित्य, कला, संस्कृति आउँदो युवापुस्तामा हराउँदै गएकाले यसको संरक्षणका निम्ति सबै एक जुट्नु हुनुपर्ने उनीहरूको भनाइ छ । सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हामीले भाषा र साहित्यलाई विश्वमा कसरी चिनाएको छौ, त्यसप्रति सबै सजक हुनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति विस्तारै विस्तारै लोप हुँदै गइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको युवापुस्ता त्यो क्रेज देखिँदैन, समाजको विकासको निम्ति भाषा र साहित्यप्रति सबैले ध्यान दिनुपर्ने समय आएको छ ।’ त्यस्तै सिक्किम विश्वविद्यालयका सह प्राध्यापक डा. देवेन्द्र सुब्बाले नेपाली भाषाको संरक्षण नै अहिलेको मुख्य चुनौती रहेको औल्याउनुभयो ।

पहिलाका राजा शासनदेखि नै नेपाली भाषामै पत्र र निवेदन लेख्ने चलन रहेको बताउनुभयो । ‘अहिलेका विद्यार्थीले अंग्रेजी भाषामा पत्र र निवेदन लेख्दा नेपाली भाषा संकटमा पर्ने थालेको छ’, सहप्राध्यापक डा।सुब्बाले भन्नुभयो, ‘प्रयोगकर्ताले नै नेपाली भाषाको प्रयोग गदिर्दैन भने यसको संरक्षण कसरी हुन्छ रु त्यसैले आफ्नो भाषाको प्रयोग आफैंबाट सुरुवात गर्नुपर्ने हुन्छ, अनिमात्र नेपाली भाषाको संरक्षण हुन्छ ।’ साहित्य उत्सव आयोजक समितिका संरक्षक जेकब खालिङले सिक्किममा साहित्यिक रुखोपन छाएकाले मुख्यमन्त्रीको सहकार्यमा साहित्य उत्सव आयोजना गरी साहित्यिक बाझोपन हटाउने काम गरेको बताउनुभयो । ‘यस उत्सवले सबैमा उत्साह र जोस बढेको छ,’ उहाँले भन्नुभयो, ‘आउने पिँढीले पनि भाषा र साहित्यप्रति चासो देखाउँछ ।’

उक्त कार्यक्रममा कविता, व्यक्तित्वकला, चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार