काठमाडौं,
मंसिर ८ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । विशालनगरस्थित ओरिगन केयर होममा ५० वर्षे शेर्पाको आज (बुधबार) बिहान निधन भएको हो ।
नशा सम्बन्धी रोगले थला पर्नुभएका उहाँले यसअघि अमेरिका, भारत र चीनमा पुगेर उपचार गराउनुभएको थियो ।
शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।
उहाँको बौद्धस्थित शेर्पा गुम्बामा लगेर बुधबार नै अन्तिम संस्कारको प्रक्रिया सुरु गरिएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँले शेर्पाको निधनले नेपाली खेलकुदमा अतुलनीय क्षति पुगेको बताउँनुभयो । अविवाहित शेर्पाका बुवा, आमा, दुई दाई र बहिनी हुनुहुन्छ ।






