मंसिर ३ देखि ५ सम्म हस्तकला व्यापार मेला

काठमाडौं,
कात्तिक ११ ।

नेपाल हस्तकला महासंघले विगत वर्षहरू जस्तै यस वर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना संक्रमणका साथै लक्षित समूहलाई ध्यानमा राखेर शान्त स्थान हायातमा मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाहृय बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिनुभयो ।

उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब एक सय २० स्टल रहनेछन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइवर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने कला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताउनुभयो ।

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा हस्तकलाका वस्तु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ/संस्थाको पनि सहयोग रहेको छ । उक्त अवसरमा महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता/उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।

स्थानीय कला संस्कृति संरक्षण सम्वद्र्धनका साथै निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको नेपाली हस्तकला क्षेत्र हाल कोरोनाका कारण शिथिल अवस्थामा छ । तथापि कोरोनाकालमै पनि छ अर्ब बराबरको निर्यात भएको छ भने सोही अनुपातमा स्वदेशी बजारमा पनि व्यापार भई करिब १२ अर्ब बराबरको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको महासंघले जनाएको छ । त्यस्तै करिब आठ लाखले रोजगारी पाएका छन् । मुलुकको व्यापारघाटा कम गर्न, आयात प्रतिस्थापन गर्न हस्तकलाजस्ता निर्यातमूलक उद्योगको विकास, विस्तार र प्रवद्र्धनमा जोड दिनुपर्ने देखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार