काठमाडौं,
असोज २२ ।
दिलकुमार बाराही अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ । दक्षिण कोरियाले उहाँलाई झाञ्जु अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको हो ।
कोरोनाका कारण अनलाइन कार्यक्रमबीच बिहीबार अवार्ड प्रदान गरेको उहाँले बताउनुभयो । बाराही मच्छिन्द्रनाथ काष्ठकलाका नाइके हुनुुहुन्छ ।
दक्षिण कोरियाको झाञ्जु नगरले संसारभरका अमूर्त सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ । यसवर्ष भने नेपाल, इटली र ताजिकिस्तानले अवार्ड प्राप्त गरेका छन् ।
झाञ्जु नगरका प्रमुखले भौतिकरूपमै अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको भएपनि कोरोनाका कारण भर्चुअल कार्यक्रमबीच अवार्ड प्रदान गरेको बाराहीले जानकारी गराउनुभयो ।
अवार्डको राशि १० हजार अमेरिकी डलर रहेको छ । बाराहीले विगत ५५ वर्षदेखि मच्छिन्द्रनाथको काष्ठकलासम्बन्धी काम गर्दै आउनुभएको छ ।






