काठमाडौं,
असोज १३ ।
गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलुजस्तो केटी’ सार्वजनिक भएको छ । मंगलबार सामाखुसीमा आयोजित कार्यक्रम उक्त गीत सार्वजनिक गरिएको हो । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो ।
यसअघि उनीहरुले झण्डै डेढ वर्षअघि ‘भुत्रो मायाजाल’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत शीर्षककै कारण निकै विवादित बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रुपमा लिइएको छ ।
सार्वजनिक गीतको भिडियोमा गायक पवन र गायिका प्रितीकै अभिनय छ । यस्तै, उनीहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माले समेत अभिनय गरेका छन् । भिडियोमा लगानीसमेत गरेका रञ्जनले गीत राम्रो लागेको कारण प्रिती र पवनको टिमसँग जोडिएको बताए । यस्तै, भिडियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।






