नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाली बाल साहित्यको समग्र इतिहास लेखन कार्यको थालनी

काठमाडौं,
असोज ५ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली बाल साहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचना अनुकूल सात प्रदेशमा भएका बाल साहित्य लेखन, प्रकाशन र बाल गतिविधिहरूको समग्र चित्र आउने गरी अलग अलग सात जनाले र भारतीय र बर्मेली नेपाली बाल साहित्यको एक जनाले र अमेरिकी तथा युरोपेली देशहरूमा रहेका नेपाली स्रष्टाहरू बाट लिखित बाल साहित्यको इतिहास एक जनाले लेख्ने गरी नौ जना विज्ञहरूको समूह यस कार्यमा लागि सकेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

गत भदौ २९ गते बाल दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित ‘प्रज्ञा बाल कविता महोत्सव-२०७८’ का अवसरमा प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस कुराको औपचारिक घोषणा गर्नुभएको थियो । यस अवसरमा प्रदेश नं. एकको नेपाली बाल साहित्यको इतिहास कवि तथा समालोचक मिश्र वैजयन्तीले र प्रदेश नं. दुईको इतिहास बाल साहित्यका स्रष्टा तथा समालोचक नवराज रिजालले लेख्दै हुनुहुन्छ । यसरी नै कृष्ण सुवेदी (भारद्वाज मित्र)ले बाग्मती प्रदेशको, गङ्गा कर्माचार्य पौडेलले गण्डकी प्रदेशको, डा. शालिकराम पौडेलले लुम्बिनी प्रदेशको, जागेश्वर उपाध्यायले कर्णाली प्रदेशको र रामचन्द्र नेपालले सुदूरपश्चिम प्रदेशको नेपाली बाल साहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।

साथै भारतको असमकी डा. दैवकीदेवी तिमसिनाले भारतीय र बर्मेली नेपाली बाल साहित्यको र हाल अमेरिकामा रहनुभएका कवि तथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिका आदि) को नेपाली बाल साहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।

आगामी मङ्सिर महिना सम्ममा सबै क्षेत्रको लेखनकार्य सकिने र तीनौओटै सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यही आर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृति प्रकाशन गर्ने योजना रहेको जानकारी परियोजना संयोजक तथा साहित्य (लोकवार्तार बालसाहित्य) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

पछिल्लो समयमा बालबालिकाको प्रतिभा उद्घाटन, बाल साहित्यको अनुसन्धान र प्रकाशन जस्ता कार्यमा निकै सक्रिय देखिएको प्रज्ञा–प्रतिष्ठानले प्रज्ञाको इतिहासमा नै पहिलो पटक अर्धवार्षिक रूपमा ‘बालप्रज्ञा’ नामक बाल पत्रिका प्रकाशनको थालनी गरी निरन्तर प्रकाशन गर्दै आएको छ भने यसअघि नै १०१ जना कथाकारहरूका बालकथाहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बाल कथा’ र १०७ जना गजलकारहरूका बाल गजलहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बाल गजल’ कृतिहरू प्रकाशन गरिसकेको छ । यही मङ्सिर महिना भित्रमा ‘प्रज्ञा नेपाली बाल निबन्ध’ र ‘प्रज्ञा नेपाली बाल गीत’ प्रकाशन कार्यमा जुटेको प्रज्ञाले नेपाली बाल काव्य, बाल उपन्यास र बाल कथासँग सम्बन्धित विभिन्न अनुसन्धान कार्यहरू पनि गराइरहेको जानकारी प्राज्ञ डा. नेपालले दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार