मिसेस नेपाल वल्र्ड हुने

काठमाडौं,
असोज ५ ।

मिसेस नेपाल वल्र्ड हुने भएको छ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको हो ।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वल्र्डको पहिलो संस्करणको घोषणासँगै यस वर्षबाटै यसको विजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

यो सँगसँगै यस वर्षदेखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस नेपाल वल्र्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन विजेताको छनोट गर्नेछ । यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् ।

यी प्रतियोगितामा विगतका वर्षमा झैँ यसपटक पनि महिला सशक्तीकरणका लागि सामाजिक मुद्दा उठाइनेछ भने विजेताले वर्षभरि उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने प्रावधान राखिएको छ । यस वर्षलाई क्यान्सरविरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाइएको छ ।

यसअघि, सम्पन्न मिसेस इन्टरनेसनलमा सविता लामिछाने, अनुपमा राई, सुरुचि पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधि चुम्नु भएको थियो । मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाइजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधिहरू जिती नेपाल र नेपालीको प्रतिष्ठा बढाउनु भएको थियो ।

मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा मिसेस एसिया प्यासिफिक २०१८ को ताज जित्न सफल हुनुभएको थियो । त्यसैगरी, एमएस इन्टरनेसनलमा नेपालको तर्फबाट संगीता बस्यालले सहभागिता जनाउनु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार