छायाँकन गर्दागर्दै कलाकार रमेश केसीको निधन

काठमाडौं,
असोज ३ ।

हास्यब्यंग्य कलाकार रमेश केसीको छायाँकन गर्दैगर्दा निधन भएको छ । ६९ वर्षीय रमेशको आइतबार बिहान गीत छायांकनको सेटमा निधन भएको हो ।

कलाकार उत्तम केसीका अनुसार सुटिङकै क्रममा उहाँ एक्कासि बेहोस् हुनुभएको थियो । त्यसपछि तुरुन्तै गंगालाल हृदयरोग केन्द्रमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगतै उहाँलाई मृत घोषित गरिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार टेलिशृंखला ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेश मोटरसाइकल नै लिएर छायाँकनमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेको केही समयपछि उहाँ बेहोस् हुनुभएको थियो ।

कलाकार रमेश केसीको अन्त्येष्टि आइतबारै पशुपति आर्यघाटमा गरिएको छ । विसं २००९ सालमा जन्मिनु भएका रमेशको दुई छोरा, तीन छोरी र श्रीमती हुनुहुन्छ । केसीले नाटक ‘अञ्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएको थियो । यसपछि उहाँले, ‘के सक्कली के नक्कली, यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएनलगायत नाटकमा अभिनय गर्नुभएको थियो ।

यस्तै, उहाँले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चंगा’लगायत चलचित्रमा अभिनय गर्नुभएको थियो । कलाकार केसीले ‘हर्के हवल्दार, तीतो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’लगायत सिरियलमा समेत काम गरेर दर्शकको मन जित्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार