कविता : म कर्ण हूँ

✍️ पेशल आचार्य
रामेछाप, मन्थली
भदौ २९ ।

आमाबाटै हेपिएको
आमाबाटै त्यागिएको
बन्धुबान्धवहरूबाट पीडित
दौँतरीहरू बाट अवहेलित
भारतकालीन म कर्ण हूँ
साँच्चै म महाभारतकालीन कर्ण हूँ,

मलाई मेरो परिचय चाहिएको छ
मलाई मेरो अस्तित्व चाहिएको छ
हिजो म बाध्यतावश चुपलागेँ
अब म बोल्न चाहन्छु
अब म मन भित्रका कुरा खोल्न चाहन्छु
कौन्तेय हूँ म
पाण्डवहरूको भएर पनि
म पाण्डव हुन किन सकिनँ ?
कौरवहरूको नभएर पनि
मैले कौरवको परिचय पाउनु पर्‍यो
महाभारतकालीन कर्ण हूँ म,

मैले कौरव पक्षबाट लडेर पनि
युद्ध जितेको जशलिन सकिनँ
मैले पाण्डका विपक्षमा लडे पनि
युद्ध जितेको अपजशलिन सकिनँ
म मझधारमा रहेँ
न जीतको जश्न मनाउन सकेँ
न हारको पीडामा उद्वेलित भएँ
म यता को न उताको भएँ,

म यो नेपालमा पनि आएको छु
कृपया अहिलेसम्म
मेरो परिचय छैन
म को हूँ?
के म कौरव हूँ त ?
या म पाण्डव हूँ?
कसले निर्‍क्यौल गर्ने मेरो परिचय?
खासमा मेरो नागरिकता छैन
अहिलेसम्म नेपालमा
आमाका नामबाट नागरिकता बन्ने प्रावधान छैन
हाम्रा आमाहरू
विवाहिता हैनन्
न प्रेमिका हुन्
न ल्याइते हुन्
आज लिभिङ टुगेदरमा बसे सरह
हामी जन्मेका हौं
हामी अन्मेका हौंं,

खै ! कर्णहरूको परिचय ?
खै ! कर्णहरूको नाम ?
जसले महाभारतदेखि
यो नेपालसम्म समग्रतामा हल्लायो
चिनायो र बचायो युद्ध कलाहरू,

वर्तमानमा म
एक शान्तिप्रेमी नेपाली नागरिक
म नागरिकता चाहन्छु
म नागरिक बन्न चाहन्छु
मैले चिनेको छु
मलाई अनागरिक बनाउनेहरू
मैले जानेको छु
मेरी आमालाई दुःख दिनेहरू,

म यो आधुनिक नेपालको कर्ण हूँ
म नेपाली भएर बाँच्न चाहन्छु
म नेपाली भएर हास्न चाहन्छु ।।

यसमा तपाइको मत

अन्य समाचार