डा. डीआर उपाध्याय
काठमाडौं,
भदौ १७ ।
राजनीति दल र तिनका नेताहरूलाई यो देशको कुनै चिन्ता छैन । उनीहरूलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताको कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुँदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनुपर्छ । नेताहरूले केही कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक सङ्कटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन् । तर, यतातिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरूको ध्यान जानुपर्छ । राजनीतिक दल र तिनका नेताहरूको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ ।
राजनीतिक दल र तिनका नेताहरूले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरू धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस्था गरिब हुन्छ । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुँदै आएको छ । नेताहरूका खोक्रा आर्दशका कुराले मात्र मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागि मरिहत्ते गर्ने नेताले देश बर्वाद गरे । लामो समयदेखि हामीले नेताहरूको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागि एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केही देखिएन । यो देशमा हामीलाई चाहिनेभन्दा धेरै नेता भए ।
यति धेरै नेता यो देशले धान्न सक्दैन । मुलुकमा सक्षम, योग्य राजनेताको आबश्यकता भने छ । सबैलाई मिलाएरसँगै लैजान सक्ने नेता हामीलाई चाहीएको छ । राजनीति दल र नेतै नेताले भरिएको देशमा बिकास हुन समय लाग्छ । अब देशको यो आर्थिक अबस्थाले यति धेरै नेता पाल्न नसकिने अबस्था देखियो । नेता बिरामी हुँदा सरकारी बजेट बाट उपचार खर्च पाउँछन । देशका नागरिक गम्भिर बिरामी हुदाँ वीर अस्पतालदेखि सरकारी अस्पतालमा सहजरुपमा आइसीयु पाउन मुस्किल छ । निजि अस्पतालमा उपचार गराउन जाने हो भने घर खेत बेचेर जानुपर्ने अवस्था छ । किनकी निजि अस्पताल धेरै महङ्गा छन् । बास्तबिकता यही होइनर ? त्यसो भएको हुनाले नागरिकलाई स्वास्थ्य , शिक्षा निःशुल्क हुनुपर्छ भन्र्ने आबाज धेरै पहिलेदेखि उठेको हो । नागरिकलाई स्वास्थ्य र शिक्षा निःशुल्क हुनु अनिबार्य छ । कुरा मात्र गरेर हुँदैन, ब्यबहारमा कार्यान्वयन गर्नुपर्छ । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनले यो कुरामा ध्यान दिन जरुरी छ । उनी प्रधानमन्त्री हुँदा समाजमा खासै उत्साह देखिएन । कारण के हो भने यो उनको प्रधानमन्त्रीको पाँचौं कार्यकाल हो । उनी प्रधानमन्त्री हुँदा गरेका क्रियाकलाप नेपाली समाजले देखदै र भोग्दै आएको छ । तथापि, इतिहासको कमीकमजोरीबाट पाठ सिकेर उनले अत्यन्त प्रभावकारी काम गरेर देखाउनु पर्ने समय आएको छ ।
अहिले नै उनको आलोचना गर्ने समय त आएको छैन । तै पनि सरकारको गति देखदा बोल्नु पर्नेभयो । परन्तु बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उनको कार्यशैलीमा दूरदर्शिता देखिँदैन । हाम्रो देशको राजनीति संस्कार विकृत हुँदै आएको छ । यसलाई समयमै सुधार गर्नु पर्ने देखिन्छ । सामाजिक सञ्जाल, खबर पत्रपत्रिका, इलेक्ट्रोनिक्स मेडिया लगायतले जनचेतना फैलाएको छ । कुनै कुरा लुकाउन सक्ने अवस्था छैन । तै पनि नेताहरूले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन् । राजनीतिमा नेपाली समाजसचेत भएको देखिन्छ । देश बनाउने हो भने समाजका भ्रष्ट नेता वा कर्मचारीलाई सामाजिक बहिष्कार गर्ने आँट सबैले गर्नुपर्छ । हरेक क्षेत्रमा नैतिकको प्रश्न उठिरहेको छ ।
आलोचना, टीकाटिप्पणी भइरहेको छ । तर, सिङ्गो नेपाली समाज विकृति र विसङ्गतिविरुद्ध एकजुट भएर सम्बन्धित क्षेत्रको सुधारको लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन । यसरी नै राज्य, राजनीति, प्रशासन चलेको छ । त्यसैले समाजका भ्रष्ट, दलाली, बिचौलिया, ठग, बेइमान हौसिएका छन् । हामी सचेत र सक्रिय भयौं भने राज्य नागरिकप्रति उत्तरदायी हुन्छ । अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टचार एवम् सेटिङ हुने गरेका समाचार आउने गर्छन् । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलीजुली खाने प्रवृतिका कारण देशका संरचना गुणस्तरहीन छन् ।
भ्रष्टचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको अवस्था छ । देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व र प्रशासकका कारण सुशासन कायम हुन नसकेको हो । पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरूबीच घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थको राजनीति मौलाउदै गएको छ । राजनीतिको आडमा कालो धन कमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आफ्ना दल वा गुटका कार्यकर्ताले आर्थिक अनियमिता गरिरहेका छन् । यो काम तुरुन्त सरकारले रोक्नुपर्छ ।






