काठमाडौं,
भदौ १६ ।
बुधबार थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १४ हजार ९३५ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो । प्रवक्ता डा. पौडेलले संक्रमण पुष्टि हुने दर केही दिन यता कम भएको जस्तो देखिएता पनि प्रदेश अनुसार संक्रमण पुष्टिहुने दर फरक रहेको बताउनुभयो ।
देशभर पछिल्लो समय ३४ हजार १८९ जना सक्रिय संक्रमित छन् । ति मध्ये देशका विभिन्न अस्पतालमा ५६३ जना आईसीयू र १७० जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो समय थप तीन हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख १९ हजार ३३६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।
पछिल्लो समय २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै बुधबार काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।






