कविता : दुःख छ केटाहरूलाई दुःख छ

✍️ पेशल आचार्य
काठमाडौं,
भदौ १५ ।

अचेल
केटाहरूलाई
धपेडी छ
गाह्रो पनि छ
दस तिरका काम भ्याउनु परेको छ
कहिले पार्टीका काम
कहिले गर्ल फ्रेन्डका काम
कहिले गाउँ तिरबाट
बाले गर्नु भनेर पठाइदिएका कामहरू
कोरोना छ
सामाजिक दूरी कायम गर
भन्छ सिडिओ कार्यालय पनि
दुःख छ केटाहरूलाई दुःख छ
गाह्रो छ केटाहरूलाई गाह्रो छ
पार्टीका कार्यक्रमहरू पनि
गराइदिनु परेको छ
विद्यार्थीहरूका संगठनहरू पनि
चलाइदिनु परेको छ
गर्ल फ्रेन्डले भनेका बेलामा
सदरमुकामका महँगा होटलमा
मटन मोमो खुवाउनै पर्‍यो
सिजन अनुसारका टि सर्ट
घुँडा खुइल्याएका जिन्स, लेगिज
र सलवार कुर्ताका
अनेकन आउँछन् फर्माइसहरू पनि
हप्ताको एउटा एकसय रुपैयाँको
रिचार्ज हाल्दिनै पर्‍यो
अझ गाह्रो त
गाउँबाट कोदो बेचेर
मकै बेचर बाले पठाएका पैसाबाट
महिनाको एकपल्ट अनिवार्य
डेटिङ् नामको गुप्तवास
लैजानै पर्छ मैयालाई
कहिले धुलिखेल
कहिले नगरकोट
कहिले सिन्धुली गढीको
युद्ध सङ्ग्रहालय
कहिले जिरीको लिङ्कन बजार
त्यसैले त केटाहरूलाई
दुःख छ अहिले दुःख छ
भाम दुःख छ,

घरभाडा नतिरेको
९ महिना भैसक्यो
धन्न घरबेटी
आफ्नै पार्टीका शुभेच्छुक परेछन्
नत्र उहिले खेदिसक्ने थिए
उहिले हिँडिसक्नु पर्ने थियो
झिटीगुन्टा बोकेर
कहिले हुने हो यो ४ वर्षे ब्याचलर क्लियर ?
कहिले आउने हो आफ्नो सरकार ?
अनि कपाल कन्याएर दाजु नेताहरूलाई
यसो करारको खरदार या सुब्बा भँजाएर
फेरि उही मायालुलाई
नेपाल खाल्डोमा डेरा जमाउने गरी
रिलेसनसिपमा मजाले बस्न मन छ
आफ्नै कमाइ भएको देखाएर
दसैँ दसैँमा घर आउँदा
जोरीपारी र छिमेकीलाई देखाउँदै
बा आमा, भाइबहिनी र आन्टीलाई
भनेजस्ता लुगा, जिरा, मरिच
कट्कटिया दक्षिणा नोटहरू
र नयाँ रेड्मीको टेन प्रो
हातमा घुमाउँदै देखाउन मन छ
तर के गर्नु ?
विपक्षीको सरकार गिर्ने छेकछन्दै छैन
आफ्नो कहिले बन्ने हो थाहा नै छैन,

त्यसैले दुःख छ हो केटाहरूलाई दुःख छ
अर्काकी छोरीलाई स्वर्णीम् सपना देखाएर
बेरोजगारी जीवन जो बिताउनु परेको छ
कस्ले पो बुझ्छ र यो दुःख ?
कस्ले पो देख्छ र यो सकस ?

दुःख छ केटाहरूलाई दुःख छ
अचेल झन् असाध्यै दुःख छ ।।

यसमा तपाइको मत

अन्य समाचार