काठमाडौं,
भदौ १३ ।
नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ सम्पन्न भएको छ । शनिबार चलिचत्र विकास बोर्डमा एक कार्यक्रमबीच अवार्ड सम्पन्न भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अवार्डमा बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ट कलाकार नीर शाह, कृष्ण मल्ल, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, विज्ञापन एजेन्सी संघका अध्यक्ष सोमनाथ धिताल, विशिष्ट हास्य कलाकार सन्तोष पन्त, मोहोन निरौला, आर पि पन्त, देशभक्त खनान, सञ्चारकर्मी प्रकाश सुवेदी, निर्देशक सुदर्शन थापा, कलाकार पुकार भट्टराई, ज्योति काफ्ले, समाजसेवी ताराबहादुर कुंवरलगायत व्यक्तित्वबाट अवार्ड प्रदान गरिएको थियो ।
कुल ४१ विधा रहेको अवार्डमा उत्कृट टेलिफिल्मको अवार्ड हास्यव्यंग्यतर्फबाट ‘उल्टो सुल्टो’ले प्राप्त गर्न सफल भएको छ । त्यसैगरी उत्कृष्ट टेलिफिल्म सामाजिकतर्फबाट ‘जुठे’ले पाउन सफल भएको छ भने उत्कृष्ट निर्देशक सामाजिकमा ‘जुठे’बाटै मरिचमान श्रेष्ठ र राजु पौडेलले प्राप्त गर्नुभएको छ । उत्कृष्ट चरित्र अभिनेतामा ‘मेरी बास्सै’बाट सुरविर पण्डित, उत्कृष्ट चरित्र अभिनेत्रीमा ‘जुठे’बाट विद्या कार्की, उत्कृष्ट लेखन सामाजिकमा ‘जुठे’बाट मरिचमान तथा राजु पौडेल, उत्कृष्ट लेखन हास्यव्यंग्यमा ‘उल्टो सुल्टो’बाट रवि डंगोल, उत्कृष्ट नव निर्देशकमा ‘बुहारी’बाट रामचन्द्र बोहरा, उत्कृष्ट छायांकारमा ‘जुठे’बाट घनश्याम पोख्रेरल, उत्कृष्ट सम्पादकमा ‘दृष्टि’बाट नवीन निरौला, उत्कृष्ट खलपात्रमा ‘जुठे’बाट रवि गिरी, उत्कृष्ट चर्चित कलाकार पुरुषमा ‘गाह्रो छ’ बाट वेगम नेपाली, उत्कृष्ट चर्चित महिला कलाकारमा ‘गाह्रो छ’ बाटै रिनासा दाहाल, उत्कृष्ट सहअभिनेत्रीमा ‘दृष्टि’बाट कविता शर्मा गेलाल, उत्कृष्ट सहअभिनेतामा ‘बुहारी’बाट निरक शाही, उत्कृष्ट निर्देशक हास्यव्यङग्यमा ‘मेरी बास्सै’बाट दमन रुपाखेती, उत्कृष्ट निर्देशक सामाजिकमा ‘जुठे’बाट मरिचमान श्रेष्ठ तथा राजुु पौडेल र जुरी अवार्ड ‘भुन्टी’ र ‘मानव’लाई प्रदान गरिएको थियो । त्यसैगरी मरणोपरानत सम्मानबाट स्व.उमेशनाथ अर्याल र शम्भु थापालाई प्रदान गरिएको थियो ।
लाइफ टाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई प्रदान गरिएको अवार्डमा चलचित्र पत्रकारिता पुरस्कारतर्फबाट गोपीकृष्ण टिभीबाट विष्णु सुवेदी र मोफसलबाट पत्रकारिता गर्दै आउनुभएका हिमेश विकलाई प्रदान गरिएको थियो ।
पुरानो सिनेमालाई डिजिटल गर्न अथवा मिहिनेत गर्नुभएको चलचित्र विकास बोर्डबाट विशिष्ट कर्मचारी चिरञ्जीवी गुरागाईं सम्मानित हुनुभएको थियो । अवार्डको निर्णयकमा विशिष्ट कलाकार लय संग्रौला, रमेश बुढाथोकी र सुवास गजुरेल रहनुभएको आयोजकले जनाएको छ ।






