काठमाडौं,
भदौ ११ ।
शुक्रबार थप दुई हजार ६५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ७५२ जनाको पिसिआर परीक्षणमा एक हजार ५७७ र चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ५६ हजार ७९२ पुगेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४५४ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा १६९ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर पछिल्लो समय सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ । तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा दुई हजार ९२३ संक्रमित छन् । देशका विभिन्न अस्पतालको आइसियुमा ६२२ र भेन्टिलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख आठ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोना संक्रमणबाट शुक्रबार थप २५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।






