आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

काठमाडौं,
भदौ ११ ।

काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले आजदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर, भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक बिदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरू, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो । भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा दुई लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उहाँले जानकारी गराउनुभयो ।

यो अवधिमा भेरोसेलको पहिलो मात्रा खोप कसैलाई पनि नदिन, केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरूको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

अन्य समाचार