काठमाडौं,
भाद्र ९ ।
निर्वाचन आयोगमा आज दुई नयाँ दल दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत आयोगमा दर्ता भएका हुन् ।
आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
नेकपा एमालेबाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गर्नु भएको छ ।सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गर्नुभयो ।
सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुग्नु भयो ।
नेकपा एमालेबाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।
पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले आजै दलको मान्यता प्रदान गरेको छ ।






