थप दुई हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ को मृत्यु

काठमाडौं,
साउन ९ ।

बुधबार थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ । पछिल्लो समय मंगलबार कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको थियो ।

यस्तै बुधबार थप दुई हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौ हजार ७११ जनाको पिसिआर परीक्षणमा एक हजार ८६२ र पाँच हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको हो । यसअघि मंगलबार २५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार थप एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३९ हजार ६४ जना पुगेको छ । नेपालमा संक्रमित निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने तीन हजार ३७ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न अस्पतालका आइसियुमा ६१० जना र भेन्टिलेटरमा १६१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा बुधबार ७४५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार