काठमाडौं,
भदौ ९ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको उल्लेख गरेको छ । महाशाखाले प्रदेश नम्बर-१, प्रदेश नम्बर-२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको र गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।






