काठमाडौं,
भदौ ७ ।
सोमबार थप एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ७०४ पिसिआर र दुई हजार ६२२ जनाको एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ४८ हजार ९८१ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ छ ।
मन्त्रालयका अनुसार सोमबार थपिएका कोरोना संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ४४१, कास्कीमा २०८, ललितपुरमा १६७, भक्तपुरमा १०० र सुनसरीमा ९६ जना छन् । यस्तै मोरङमा ९२, चितवनमा ६०, नुवाकोटमा ५५, झापामा ३४, नवलपरासी पूर्वमा ३१, गोरखामा ३०, स्याङजामा २५, रुपन्देहीमा २४, धादिङमा १९, दाङ र लमजुङमा १३÷१३ जना र म्याग्दीमा १० जना छन् ।
यस्तै पछिल्लो समय ३५ हजार १३२ जना होम आइसोलेसन र तीन हजार २१९ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न अस्पतालमा ६७९ जना आइसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
थप एक हजार ९२४ जना संक्रमण मुक्त भएका छन् । योसँगै सात लाख ९७ जना संक्रमण मुक्त भएका छन् ।
सोमबार थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।






