काठमाडौं,
भदौ ७ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रहेको र प्रदेश नम्बर-१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको उल्लेख गरेको छ ।
नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






