काठमाडौं,
भदौ ७ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ ।
‘सापारु’ अर्थात गाईजात्रा । नेपाली समाजमा सापारु नामाकरण ‘सा’ भन्नाले नेपालभाषामा ‘गाई’ भन्ने बुझिन्छ र ‘पारु’ भन्नाले ‘तिपदा’ । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन ।
काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु अर्थात गाईजात्रा पर्व मनाईन्छ । यो नेपाली समाजको एक महत्पूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यसदिन भजन किर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ(आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । यो अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्षको गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन सरकारले आग्रह गरेको छ । जात्रामा हुने भिडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न अनुरोध गरेको छ ।
गाईजात्रा पर्वलाई लक्ष्य गरी हास्यव्यंग्य कलाकारले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक प्रस्तुति युट्युबलगायत अन्य सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिरहेका छन् । उनीहरुले नाटकमार्फत देशको पछिल्लो अवस्थाप्रति तीखो व्यंग्य प्रहार गरेका छन् ।






