काठमाडौं,
भदौ ३ ।
सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ का प्रतिस्पर्धी अन्तिम तयारीमा जुटेका छन् । यही भदौ १२ मा हुने फिनालेका लागि उनीहरूको अन्तिम तयारीमा जुटेका हुन् । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहीबार एक विज्ञाप्ति जारी गर्दै प्रतियोगिताको अन्तिम स्पर्धा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगिताको अन्तिम स्पर्धामा शान्ति मगर लिम्बू, रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अञ्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाललगायत एक दर्जन महिला उपाधिका लागि भिड्दै हुनुहुन्छ ।
सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायत प्रशिक्षणसहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले जानकारी गराउनुभयो । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्डसमेत आयोजना हुने आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालिका प्रीति कार्कीले बताउनुभयो ।
शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी वरिष्ठ कोरियोग्राफर आश्विनी झाले गरिरहनु भएको छ । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यस्त कोरियोग्राफरका रूपमा परिचित हुनुहुन्छ ।






