थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

काठमाडौं,
साउन ३२ ।

सोमबार थप तीन हजार ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पिसिआर परीक्षणमा दुई हजार ५६६ र पाँच हजार ५१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ३४ हजार ८३८ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणदर २२.१० प्रतिशत रहेको छ ।

सोमबार काठमाडौं उपत्यकामा मात्रै ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना छ । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा छन् भने तीन हजार ३३५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमणका बिरामीमध्ये ७९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै थप दुई हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९३.२ प्रतिशत रहेको छ ।

सोमबार थप ३५ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार