डा. डीआर उपाध्याय
काठमाडौं,
साउन ३२ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनुपर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानुपर्छ ।
आउँदो चुनावसम्म मिलेर जादा देशलाई फाइदा नै हुनेछ । नेकपा एमाले सहितका बिपक्षी दलहरूलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ । एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो । यसरी देशको बिकास हुन सक्दैन ।
अहिलेसम्म सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन हो । यसमा गठबन्धनको दोष छ । यो सरकारलाई पनि कताकता असफल देखाउने प्रयास भइरहेका छन् । एमाले भित्रको बिवाद अझै समाधान हुन सकेको छैन । नेताहरू आ–आफनो स्वार्थमा केन्द्रित छन् । स्वार्थका कारण कुरा मिल्न सकिरहेको छैन । माधब नेपाल र केपी ओलीबीच कुरा मिल्यो भने पार्टी एक हुन कुनै समय नै लाग्दैन । भित्री कुरा बुझन धेरै गाह्रो भइरहेको छ । प्रचण्ड माधब निवास बेला बेलामा धाइरहन्छन ।
प्रचण्ड र माधबबीच केही गोप्य कुराले पार्टी एकतामा बाधा पुगेको हो की जस्तो पनि देखिन्छ । पार्टी एकताका लागि माधव नेपाल र केपी ओली गम्भिर बन्नुपर्छ । देश भरीका नेता कार्यकर्ताहरू पार्टी एकता नहुदा निराश छन् । ओली पार्टी एकताका लागि पछिल्लो समयमा अलि लचिलो बनेका छन् । माधब नेपाल पनि लचिलो हुने हो भने यो बेलामा पार्टी एकता गर्न सहज हुने देखिन्छ । सबै दलहरूमा गुट उपगुट छन् । गुटको राजनीतिले सबै दलहरू थला परेका छन् ।
अहिले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा तराई केन्द्रित दलका गतिविधि र क्रियाकलापहरू सन्तोषजनक छैनन् । उनीहरू मुलुक र देशप्रति संवेदनशील नै नभएको आभास भएको छ। यिनीहरूले मजाक मजाकमा देशको भबिश्य बर्बाद गरिरहेका छन् । त्यसैले यिनीहरूबाट देश र जनताको भलो हुन्छ भन्ने नसोच्दा पनि हुन्छ। प्रचण्ड र माधव मिलेर जसरी सरकार ढाले त्यो धोका अब देउवाले बेहोर्नु नपरोस् ।
सत्तास्वार्थ कै कारण नेकपामा जसरी विवादको सुरुआत भएको थियो । यता पनि त्यस्तै अवस्था आउन सक्ने सम्भावना छ । किनकि प्रचण्ड सधैं क्रमभङ्ग गर्न रुचाउने व्यक्ति हुन् । त्यसैले त्यो अवस्था अब पुनः नआउला भन्न सकिँदैन । देश र समयको बर्बादी कसैले पनि गर्नु हुँदैन । अबको बाँकी समय देउवालाई खुलेर नेतृत्व गर्न दिनुपर्छ । होइन भने मुलकमा फेरि अस्थिरता आउन सक्छ ।






