काठमाडौं,
साउन २६ ।
गरिमा ज्ञवालीले ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को उपाधि जित्नुभएको छ । न्युयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’ को ताज लगाउनुभएको हो ।
त्यसैगरी फस्ट रनर अप याङ्छेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला हुनुभएको थियो । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने नेपाली युवतीहरू सहभागी थिए । गत वर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरू मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक रहनुभएको थियो । नेपाली महिलाहरूलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताउनुभयो ।






