काठमाडौं,
साउन २५ ।
कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप लगाइँदै छ । दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।
अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।
फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप लगाउन लागेका हुन् ।
कोरोनाविरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सरकारले पाँच प्रदेशमा पठाइसकेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार खोप पठाईएको र पुग्न दुई दिन लाग्ने भएकाले बुधबारदेखि ती प्रदेशमा लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी दुई लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ । दोस्रो चरणमा जापानले दिएको बाँकी आठ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।






