काठमाडौं,
साउन २२ ।
साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् ।
परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री९पुरुषले दर्शन गर्नुपर्ने चलन छ । जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवम् शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक एवम् भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ ।
नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएका छ ।
नेवार समुदायमा रोपाइँ सकिएको पर्वका रुपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा मनाउने प्रचलन छ ।
आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसका साथै गाइजात्रामा प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच तथा व्यङ्ग्यात्मक नाटकको प्रशिक्षणसमेत आजदेखि सुरु गरिन्छ ।






