‘खामोसी उईथ लाईफ’मा नेपालकी हेवन पथम

काठमाडौं,
साउन १४ ।

बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्लाकी बहिरा युवती हेवन उपाध्याय प्रथम हुनुभएको छ । भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको ‘खामोसी उईथ लाईफ’ (मौनता सहितको जीवन) कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा उहाँ प्रथम हुनुभएको हो ।

उहाँले उपाधीसहित १० हजार पुरस्कार राशी पनि प्राप्त गर्नुभएको छ । सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड.१९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरूले आ–आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन दुई मिनेटको भिडियो बनाउनुपर्ने थियो । जसमा जेष्ठ नागरिकहरू, बालबालिकाहरू तथा अन्य अपांगता भएका व्यक्तिहरू साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरूले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो ।

त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र दुई मिनेटको जनचेतनामूलक भिडियो बनाउनु भएको थियो ।
वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले बहिरा व्यक्तिहरूमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरूलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ ।

बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।

को हुन् हेवन ?
हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर हुनुभएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुनुहुन्छ । कैलालीको धनगढीमा जन्मिनुभएकी उहाँमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो ।

उहाँमा त्यस्तो समस्या देखिएपछि उहाँका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्नकै लागि पनि अर्को सन्तानको तयारी गर्नुभएन । पाँच वर्षको उमेरपछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना हुनुभयो र अहिले उहाँ सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार