काठमाडौं,
साउन १३ ।
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा प्रदर्शन गरिएको छ । राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा मंगलबार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घन्टा एमसिसी बिरुद्ध विरोध तथा धर्ना कार्यक्रम आयोजना गरेको हो ।
बीर गोर्खालीका अध्यक्ष बसन्त बिक्रम पाण्डेको नेतृत्वमा आयोजना गरिएको सो धर्ना कार्यक्रममा सहभागीहरूले एमसिसी बिरुद्धको प्लेकार्ड, व्यानर प्रस्तुत गर्दै जुलुस नारा लगाएका थिए ।
एमसिसी देशका लागि घातक भएको दाबी गर्दे यसलाई नेपालमा पारित नगराउन उनीहरूले सो कार्यक्रममा दवाव दिएका थिए । ‘देश डुब्न लागिसक्यो, राजा हामीलाई चाहिसक्यो’ सहित एमसिसी बिरुद्ध विभिन्न नाराहरू उनीहरूले सो क्रममा लगाएका थिए ।
विरोध सभामा बीर गोर्खालीका करिब एक हजार सदस्यहरू सहभागी भएका थिए । सो धर्ना कार्यक्रमसँगै बीर गोर्खालीले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा एमसिसी सम्झौता नगर्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । बीर गोर्खालीका अध्यक्ष बसन्त विक्रम पाण्डेको संयोजकत्वमा सो संगठनका तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।
धर्ना सभालाई समापन गर्दै अध्यक्ष पाण्डेले नेपाल जस्तो गरिब मुलुकमा एमसिसी सम्झौता गर्नु देशकै लागि घातक हुने बताउनुभयो ।






