काठमाडौं,
साउन ६ ।
विगत नौ वर्षदेखि संस्कृति साहित्य र कलाको लेखन, प्रकाशन, प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान-२०७८ को घोषणा गरेको छ । संसाकले यस वर्ष समीक्षा, काव्य/कविता, मुक्तक, नियात्रा, शीत आदि विधाका ६ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ ।
विभिन्न विधाका सम्मान पाउने स्रष्टा/सर्जकहरूमा संसाक यात्री नियात्रा सम्मान- रञ्जुश्री पराजुली, काठमाडौं, संसाक अनामणि समीक्षा सम्मान- अरुणबहादुर खत्री ‘नदी’, काठमाडौं, संसाक भद्रकुमारी के.सी. मुक्तक/हाइकु सम्मान- अमित घिमिरे, सिन्धुपाल्चोक, संसाक तेज/शोभा काव्य सम्मान- रेणु थापा मौनता, काठमाडौं, संसाक कर्ण शीत सम्मान- देवेन्द्रराज शाक्य, बुटवल, संसाक गोपालराज/मैयादेवी पाण्डे साहित्य सम्मान- मेनुका चापागाई, मोरङ रहनुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्व र मुक्तककार जसध्वज गुरुङ र उपप्राध्यापक अनुपमा रेग्मीको सदस्यमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो ।
सम्मान समर्पण कार्यक्रमको आयोजना कोरोना भाइरस (कोभिड-१९) को अवस्थालाई ध्यानमा राख्दै उपयुक्त समय र स्थानको छनोट गरी निकट भविष्यमा गर्ने योजना रहेको बताइएको छ ।






