काठमाडौं,
साउन ६ ।
बुधबार थप दुई हजार ८३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ७१५ जनाको पिसिआर परीक्षणबाट एक हजार ९१८ र तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर र एन्जीजेन परीक्षण गर्दा पछिल्लो समयसम्म सात लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३६ हजार ४०२ संक्रमण मुक्त भएका छन् ।
बुधबार एक हजार ४७५ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको प्रतिशत ९४.६ रहेको छ ।
पछिल्लो समय २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र दुई हजार ४९२ संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलसनमध्ये ६२७ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
बुधबार थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ६३७ पुगेको छ ।






