थप २ हजार २३९ जनामा कोरोना संक्रमण, १ हजार ३१६ जना संक्रमणमुक्त २० को मृत्यु

काठमाडौं,
असार २५ ।

शुक्रबार थप दुई हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पिअिसार परीक्षण गर्दा एक हजार २३९ र चार हजार ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । यसअघि बिहीबार एक हजार ८७५ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार बिहीबारको भन्दा संक्रमितको संख्या बढेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमण पुष्टि भएको हो । उपत्यका पछि झापा, मोरङ्, सुनसरी, मकवानपुर, चितवन र कास्कीमा बढी संक्रमित भेटिएका छन् । परीक्षणको तुलनामा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा छन् भने दुई हजार ६७० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचाररत् छन् । पछिल्लो समय झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र मकवानपुर जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

यस्तै शुक्रबार थप एक हजार ३१६ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६१ हजार ९२९ पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या नौ हजार ३४० पुगेकोे छ ।

यसमा तपाइको मत

अन्य समाचार