काठमाडौं,
असार १८ ।
राजधानीको रत्नपार्क स्थित भित्तामा कोभिड-१९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौं नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध भएको छ ।
नेपाली कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।
सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर, लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौंको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’
कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ र किपा शेर्पालगायतले दुई साताअघि यो चित्र बनाउनु भएको थियो । यो कोभिड फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरसफाईमा खटिएकाहरूको सम्मानमा बनाइएको थियो ।






