✍️ पेशल आचार्य
काठमाडौं,
असार १४ ।
व्यस्त जिन्दगी
मस्त जिन्दगी
जाने यो
उत्सव हो
सके यो
महोत्सव हो,
मानिसहरू
धेरै मानिसहरू
जिन्दगीमा
तनाव लिन्छन्
तनाव दिन्छन्
कम मान्छेहरू
जिन्दगीमा
नतनाव दिन्छन्
नतनाव लिन्छन्
खुसी-खुसी जिउँछन्
अमृतका प्यालाहरू
खुरूखुरू पिउँछन्,
ल्यापटप जिन्दगी
अनलाइन संस्कार
हुँदाहुँदा अब त-
‘ह्याप्पी बर्थ डे !’
‘ह्याप्पीम्यारिज एनिभर्सरी !’
र ‘हार्दिक समवेदना !’
यी त्रिकोणमै
जिन्दगी खुम्चिएको छ,
अरू बेला त मान्छेदेखि मान्छे
भाग्ने स्थिति छ
लुकेर
कति
वर्ष
महिना
दसक
र शताब्दी
जीवन बिताउँछौ
भन त
ए ! मान्छेहरू ?






