काठमाडौं,
असार ८ ।
आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ । केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोरोना संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्मका लागि लागू हुनेछ ।
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा खुल्ने छन । खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री बिक्रि वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र०, स्टेशनरी र पुस्तक पसलहरु बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
त्यस्तै डिपार्टमेन्टल स्टोल (ग्रोसरी बाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल ९मोबाइल तथा कम्प्यूटर पसल० आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्म खोल्न पाइनेछ ।
त्यसैगरी निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी रातिको समयमा मात्रै गर्न पाइनेछ ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रजिअहरुको बैठकले निर्णय गरेको छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड पालना नगरेको भेटिए पसल तथा व्यवसाय तत्काल बन्द गर्ने जारी नयाँ आदेशमा उल्लेख छ ।
नयाँ आदेशअनुसार विवाह र ब्रतबन्धमा अब स्वास्थ्य मापदण्ड पालना गरेर १० जनासम्म सहभागी हुन पाउनेछन् । विवाह र ब्रतबन्धमा २ वटा सवारी साधन प्रयोग गर्न पाइने छ । यसअघि सात जना मात्रै सहभागी हुन पाइन्थ्यो ।
त्यस्तै बैङ्क, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्युनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय भएको छ ।
त्यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज भएको जनाइएको छ । यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् ।






