✍️ पेशल आचार्य
काठमाडौं,
असार ३ ।
आजकाल देउताको मन्दिरको
चुलो बल्दैन
खानेकुरा पाक्दैनन्
गफगाफ र भलाकुसारी हुँदैनन्
भक्तजनहरू पूजा गर्न जान नपाए पछि
देउता
र देउताका सबै जहानहरू भोका छन्
साँढेहरू भोका छन्
कुकुरहरू भोका छन्
गाईहरू भोका छन्
र बाँदरहरू पनि भोका छन्
किनकि त्यहाँ आजकाल लकडाउन छ
मन्दिरको
मूल ढोका लागेको छ,
साँच्ची देउताले नि
पहिलो डोज खोप लागए होलान् हगि !
कति वर्ष उमेर समूहमा पर्लान्
हामीले पुज्ने गरेका
जेष्ठ नागरिक झैँ
पशुपतिनाथ
शान्तिका लागि अभिभावक ठहर्याएका
अभिभाव कझैँ
स्वयम्भूनाथ
अनि
घरमा कमाएर ख्वाउने जस्ता
सदाबहार जल तरङ्गमा
तैरिरहने
बुढानीलकण्ठ ?
देउताहरूको मोबाइल नेटवर्क हुन्छ कि हुँदैन ?
देउताहरू अनलाइनमा बस्छन् कि बस्दैनन् ?
देउताहरूलाई युट्यूबमा अन्तर्वार्ता हेर्न मन लाग्छ कि लाग्दैन ?
नेटवर्क हुन्छ भने
कस्ता कुरा गर्दा हुन्- देउताहरू ?
अइनलाइनमा बस्छन् भने
अल्लाह-जिजस र बुद्धसँग च्याट् हुन्छ कि हुँदैन देउताहरू को ?
युट्युब हेर्छन् भने-
हामीले जस्तै सर्वोच्चले फैसला गर्न बाँकी मुद्दाबारे
वकिलहरूले दिएको अन्तर्वार्ता हेर्दा हुनन् है !
या खोप दुरुपयोग भएको बारे चर्का चर्की समाचार पो हेर्छन् कि ?
या सौरभ का उच्च विश्लेषण युक्त अन्तर्वाता मा पो रमाउँछन् कि
या टिनेजले झैँ ननभेज मुभी हेरेर
लकडाउनका निरस दिन पो बिताउँछन् कि ?
प्रश्न गर्न मन लागेको छ
कसलाई सोधूँ यी प्रश्नहरू
अस्पताल भित्रका डाक्टरहरू
आफन्त र धन नभएका बिरामी बँचाउनै तन्मयमा छन्
नदी जस्ता अनुच्छेद बाँचेर
राजमार्गका जीर्ण पुल जस्ता प्रश्न चिन्हहरू
र आश्चर्य बोधक चिन्ह लिई
एउटा अस्पतालबाट
अर्को अस्पताल रेफर गरिएका
निर्धन बिरामीहरू
जब अस्पतालले बिलको फायल दिन्छ कुरुवा लाई
मदौरो मरे पछि कति पीडा हुन्छ
बिरामीका आफन्त लाई ?
साँच्चै देउताहरू लाई पनि कोरोना लाग्यो भने ?
कहाँ उपचार गराउलान् ?
कसरी उपचार होला ?
अक्सिजन चढाउनु पर्छ कि पर्दैन होला ?
हामीले पुज्ने गरेका सप्पै देउता हरूलाई ?
आजकाल यस्तै-यस्तै
प्रश्न र प्रतिप्रश्नहरू
मेरो सानो छोराले
मलाई क्रमशः सोधि रहेछ !
मलाई क्रमशः राखि रहेछ !!
म अवाक छु
कसरी शुरू गरूँ
उत्तर का फाँकीहरू !
बास्तविकता बताएर
या जम्मै ढाँटेर !






